काठमाडौं । इपिएसमार्फत् श्रमिक लैजान २००७ मा समझदारी गरेको दक्षिण कोरियाले होटल-रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ ।
लामो समयदेखि नेपालबाट उत्पादनमूलक, पानीजहाज बनाउने र कृषि क्षेत्रमा श्रमिक लैजाने गरेको कोरियाले यसै वर्षदेखि सेवा र वन क्षेत्रमा पनि श्रमिक लैजाने प्रक्रिया सुरू भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अधिकारीहरूले बताएका छन् ।
इपिएस परीक्षा उत्तीर्ण गरेर लामो समयदेखि (सूची) रोस्टरमा नाम रहेका तर रोजगारदाताको छनोटमा नपरेका श्रमिकहरूलाई कोरियाले सेवा क्षेत्र परिवर्तन गर्ने अवसर दिएको थियो । इपिएस शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार रोस्टरमा ९ हजार ४२८ जनाको लिस्ट रहेको र रोस्टरमा भएकामध्ये पनि ३१ डिसेम्बर २०२४ मा म्याद सकिन लागेकाहरूले रोजगारीको क्षेत्र परिवर्तन गर्न पाउने अवसर कोरियाले दिएको छ ।
इपिएस भाषा परीक्षा उत्तीर्ण भएकाहरू दुई वर्षसम्म रोस्टरमा रहने प्रावधान छ । उक्त अवधिभित्र रोजगारदाताको छनोटमा नपरेको अवस्थामा उनीहरू कोरिया जान पाउँदैनन् ।
२०२५ मा सेवा क्षेत्रका लागि पनि छुट्टै कोटा बनाएर श्रमिक लैजाने कुरा कोरिया पक्षले राखेको बताइएको छ । सेवा क्षेत्रसँगै कोरियाले वन क्षेत्रमा पनि श्रमिक लैजाने इच्छा देखाएको शाखाले जनाएको छ । गत वर्षदेखि रूट इन्डस्ट्रीमा पनि श्रमिकहरू लैजान थालेको कोरियाले उक्त उद्योगमा अघिल्लो वर्ष ३० जना श्रमिक लगेको श्रेष्ठले बताए । 'गएको वर्ष पाइलट प्रोजेक्टका रूपमा लगेको थियो। यो वर्ष फेरि ५० जना मागेको छ। ५० जनामा १०१ जनाको सट लिस्ट हामीले पठाएका छौं। यसको अन्तर्वार्ता असार १३ र १४ गते हुँदैछ । यसबाट ५० जना छनोट हुन्छन्,' उनले भने।
कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरू लैजाने उल्लेख गरेको छ। नेपालसहित विभिन्न १६ वटा मुलुकबाट कोरियाले इपिएसमार्फत् श्रमिकहरू लैजाँदै आएको छ । नेपालबाट १५ हजारभन्दा धेरै श्रमिक लैजाने अनुमान गरिएको छ । सन् २००८ बाट नेपाली श्रमिक इपिएस प्रणालीमार्फत् दक्षिण कोरिया जाँदै आएका छन् । हालसम्म एक लाख २० हजार हाराहारी नेपाली श्रमिक कोरियामा पुगिसकेका र ५० हजार भन्दा बढी हाल कार्यरत रहेको अनुमान गरिएको छ ।
 
                         
                                    
                    
 
                                             
                                             
                                             
                                         
                                         
                                         
                                
Facebook Comments