काठमाडौं । कुष्ठरोग तथा यस रोगबाट प्रभावितहरुको हक, हितको वकालत तथा सम्रक्षणको घनिभूत आवश्यकता महसुस गर्दै समाजमा व्याप्त विभेद तथा असामाजिक व्यावाहारको अन्त्य गर्दै सम्मानित र आदरसहिताको जीवन यापन गर्नका लागी विश्वभर रहेका सबै नागरिक एकजुट भएर अघाडी बढौं भन्ने अभिप्राय सहित आयोजित '२६ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस' सम्पन्न भएको छ ।
मार्च ११, २०२४ अर्थात् फाल्गुन २८ , २०८० सोमबारका दिन साउथ वेष्टर्न स्टेट कलेज, बसुन्धारा, काठमाडौंको सभाकक्षमा नेपाली समाजका विविध क्षेत्रका प्रतिनिधिका साथै विश्वभरि कुष्ठरोग निवारणको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एसोशिएसन फर आइडिया नेपालका केन्द्रिय अध्यक्ष दिनेश बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय भगबती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
अङ्ग्रेजी वर्षको मार्च ११ तारिखका दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरूले जीवनमा नवीन उर्जा र आत्मविश्वासका साथ आफ्नो हक-हित, अधिकार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिनको रुपमा विशेष कार्यक्रम गरेर कुष्ठरोग निवारण नियन्त्रण सम्बन्धि कामगर्ने संघ संस्थाको संजालहरुलाई एकीकृत गर्दै एसोशिएसन फर आइडिया नेपालको नेतृत्वदायी भूमिकामा यो कार्यक्रम नेपालमा अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको रुपमा मनाउने गरिन्छ ।
यस कार्यक्रमको माध्यमबाट विश्वभर कुष्ठरोगका बारेमा समाजमा व्याप्त नकारात्मक सोच र दृष्टिकोणलाई परिवर्तन गरी कुष्ठरोग बारे नयाँ जनचेतना विस्तारका कार्यक्रमहरू सम्पन्न गरी आत्मसम्मान तथा आदर सहितको जीवन यापनका लागि आवाज उठाउंदै नितिगत समस्या तथा तिनको कार्यान्वयनका लागि सरोकारवाला पक्षहरुलाइ खबरदारी गर्ने समेत कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय भगबती चौधरीले कुष्ठरोग अन्य रोगहरूजस्तै पूर्ण रुपमा निवारण गर्न सकिने रोग भएको र यस रोगबाट प्रभावित व्यक्तिहरू पूर्ण रुपमा स्वस्थ भई जीवन र समाजमा सम्पूर्ण सम्मान र जिम्मेवारीबोधका साथ बाँच्न सक्दछन् भन्ने कुराको ज्ञान सबैमा प्रवाहित गर्नु आजको पहिलो आवश्यकता रहेको उल्लेख गरेकी छन् ।
एक फरक प्रसंगमा मन्त्री चौधरीले आहिले पनि समाजमा ब्याप्त अन्धविश्वास र अशिक्षाका कारण कुष्ठरोग संक्रमितहरुलाई हेर्ने दृष्टिकोण नफेरिएको जनाउंदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र आवश्यक सुधारका लागि स्वस्थ्य मंत्रालय संग समन्वयकारी भूमिका निर्वाह गर्दै आवश्यक पहलकदमी गर्ने समेत जनाएकी छन् ।
नेपालमा कुष्ठरोगबाट आफै प्रभावित भएर पुनः स्वस्थ जीवनमा पुनरागमन गरेका व्यक्तिहरूकै पहल र सहभागितामा गठित संस्था एसोसिएसन फर आईडिया नेपाल, नेपाल लेप्रोसी नेटवर्क तथा साउथ वेस्टर्न कलेज को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कुष्ठरोगसँग आबद्ध तथा कुष्ठप्रभावित व्याक्तिहरुको उत्थानमा महत्वपुर्ण भूमिका खेलेका स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले कुष्ठरोग निवारणको क्षेत्रमा हाँसिल गरिएका अनुभवहरू आदान प्रदान गर्नुका साथै नेपालमा यस रोगका बारेमा जनचेतना विस्तार गरि कुष्ठप्रभावित समुदायको मनोवल एवं हौसला बढाउन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
Facebook Comments