काठमाडौं । बाढीका कारण विभिन्न जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति भएको छ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा जान धनको क्षति भएको खबर छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिराेमा परी आईतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको र ठुलो धनारासिको क्षति पुगेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जनाएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म विपद्जन्य घटनामा परेर अन्य सातजना बेपत्ता र ५४ जना घाइते भएका छन् ।

केही दिनदेखि अविरल रुपमा परेको भारी वर्षाका कारण नारायणी नदीमा अहिलेसम्मकै ठुलो बाढी आएको स्थानीयको भनाइ छ । भरतपुर -१ नारायणगढ निवासी रमेश खड्की नारायणी नदीमा आएको यति ठुलो बाढी इतिहासकै ठूला बाढी भएको बताउँछन् । नारायणी नदी किनारमा आइतबार बिहान भेटिका खड्कीले भने, 'मलाई लाग्छ त्यो २०१८ साल थियो । यस्तै प्रकृतिको बाढी आएको थियो । अहिलेको रेडक्रस चोकमा कच्ची सडक थियो त्यहाँसम्म पानीको छाल आएको थियो ।'

भारी वर्षाका कारण आइतबारपनि देशभरकै जनजीवन प्रभावित भएको छ। बागमती, कोशीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोलाहरुमा पनि खहरे उर्लिएको छ । अत्याधिक बर्षाका कारण सप्तकोशी तथा नारायणी लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको तह भन्दा उच्चतहमा जल प्रवाह भइरहेको जनाइएको छ ।

बाढीकै कारण शनिबार देशकै राजधानी काठमाडौं सबैभन्दा धेरै चर्चामा रह्यो । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगाएतका खोलाहरुमा अप्रत्यासित रुपमा पानीको सतह बढ्दा उपत्यका बाढीको सिकार बन्न पुगेको थियो ।

लगातारको वर्षाका कारण जिल्लाका आछाम स्थित चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिकाका बस्ती जोखिममा परेपछि १९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी, नारायणी नदीको बाढी नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ को बस्तीमा पसेको छ । बाढीका कारण गैँडाकोट-२ बोटेटोलका करिब एक सय घर डुबानमा परेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिएका छन् । गैँडाकोट-२का करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको पनि सापकोटाले बताएका छन् ।

काठमाडौं लगाएतका विभिन्न जिल्लाहरुमा वर्षा रोकिने र बर्षाहुने क्रम चलिरहेको छ । सुरक्षा संयन्त्रका तीनवटै सुरक्षा निकायहरुलाई 'हाईअलर्ट'का साथ प्रभावित क्षेत्रमा परिचालित भएर सुरक्षा, खोज तथा उद्धारकार्यमा तदारुपताका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिईएको छ ।

बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र सुरक्षा संयन्त्र परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क) ९८५१२८५६३५ मा जानकारी लिन समेत प्रहरीले आम नागरिक समक्ष अनुरोध गरेको छ ।