काठमाडौं । माघ शुक्ल प्रतिपदा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी झाँकीसहित ल्होसार मनाएको छ ।

आजबाट बिरालो वर्षको बिदाइ गरी आजदेखि ड्रागन वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् ।

सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री 'प्रचण्ड'ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सक्ने बताएका हुन् । 'म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् ।

'फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन्;' प्रधानमन्त्री प्रचण्डले भने । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको समेत स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, 'मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।'

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, 'क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।'

प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार-२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।