काठमाडाैं । आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा ओमान बिजयी भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। १८५ रनको टारगेट लिएर जवाफी ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १८४ रन नै जोडे संगै खेल सुपर ओभरमा गएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा ओमनले ३ छक्का प्रहर गर्दै सुपर ओभरमा २१ रन जोड्यो । सुपर ओभरमा २२ रनको लक्ष्य प्राप्तिका लागि नेपालका ब्याट्सम्यान द्वय कुशल भुर्तेल र गुल्सन झा ब्याटिङ्गमा आए । पहिलो बलमै भुर्तेल क्याच आउट भए संगै ब्याटिङ्गका लागि आएका कुशल मल्ल र गुल्सन झाको साझेदारीमा नेपालले १० रन मात्र जोड्न सक्यो।

कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी रहेका थिए । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह एमा थियो । समूह एमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह बीमा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत रहेका थिए ।

समूह बिजेता बन्दै नेपाल र ओमान फ़ाइनल खेलका लागि आफ्नो स्थान पक्का गरेका थिए । फाइनल प्रवेशका क्रममा नेपालले सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमानले बहराइनलाई हराएको थियो । छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् ।