काठमाडौं । भगवान सूर्यको उपासना गर्दै मनाइने महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने गर्दछ । अस्ताउँदो सूर्यको उपसाना गरि मनाइने एकमात्र पर्वको रुपमा पनि छठलाई लिइन्छ ।
छठमा ब्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दा सुख-समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ। षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।
छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन चाहिँ छैन ।
छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ । यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ ।
अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने ब्रतालुले कात्तिक शुक्ल चतुर्थी तिथिमा शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरुवाइन खाने गर्छन्।
पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन्। त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।
सूर्यलाई अर्घ्य अर्पण गर्ने ब्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ।
षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ।
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैँटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ । छैँटीलाई टाउकोमा बोकेर विधिपूर्वक सजाइएका तलाउसम्म पुग्ने श्रद्धालुहरूको तस्बिर मनमोहक देखिन्छ ।
नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघि देखि नै माछा मासु खाँदैनन् । उनीहरूले लसुन प्याजसमेत खान नहुने विश्वास छ ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ। खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ । आरोग्य भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय ब्रतालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।
पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही ब्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत जन विश्वास रहिआएको छ।
Facebook Comments