काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक-दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मंगलबार साँझ काठमाडौं उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । फाट्ट फुट्ट परेको पानी १० मिलिमिटर भन्दा कम परेको मौसमविद् नगरकोटीले उल्लेख गरेका छन् ।
नगरकोटीका अनुसार उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । लुक्ला लगायतका उच्च हिमाली भूभागमा ठुलो मात्रामा हिमपात भएको नगरकोटीले जनाएका छन् ।
मौसमविद् नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसम बिहिबार सम्म पूर्णतया खुल्ने सम्भावना समेत न्युन रहेको र देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु/कुहिरो लाग्नाले चिसो अझै बढ्ने समेत बताएका छन् ।
Facebook Comments