काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार प्रकाशन हुने भएको छ । माद्यामिक शिक्षा परिक्षा (SEE) २०८० को नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशन हुने पनि जनाइएको छ ।

माध्यमिक शिक्षा परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार शैक्षिक सत्र २०८० को एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुनेछ । बिहिबार बिहान ७ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक पौडेलले जनाएका छन् ।

यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर आवश्यक प्राविधिक तयारी नपुगेकाले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताइएको छ ।

गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्ने हुन्छ ।