काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । ५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो ।
गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो । एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस भएका छन् ।
उनी पनि २२ गते रातिबाट अवकाशमा जान्छन् । एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल रहेको बताइएको छ ।
यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ । त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ ।
स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन् । पोखरेललाई एआइजी बनाउने सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ । लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए।
पोखरेल लोहनीका साँढुभाइ हुन् । 'दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्याउनकै लागि मात्रै हो ।' जानकारहरु बताउँछन् ।
Facebook Comments