काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए ।

यसैगरी, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको विकास र विस्तारमा संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुका साथै स्वस्थ वाताबरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरु सबैमा सकारात्मक सोचका साथ काम गर्ने वातावरण बनाउन सदैव प्रयासरत रहेको कुरा व्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।