काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम बढाउने तयारी भएको जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम सात लाखबाट बढाएर १० लाख पुर्याउने तयारी गरेको जानकारी दिँदै उनले भने, 'वैदेशिक रोजागारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई क्षतिपूर्तिबापतको रकम १० लाखसम्म पुर्याउने प्रस्ताव अघि बढाएका छौँ ।'
श्रममन्त्री आर्यालले अबको दुई वर्षभित्र वैदेशिक रोजगारीमा जानेलाई सिप अनिवार्य गरी दक्ष जनशक्तिलाई मात्र विदेश जान आकर्षित गरिने र पाँच सय अमेरिकन डलरभन्दा कम पारिश्रमिकमा वैदेशिक रोजगारीमा जान रोक लगाउने तयारी भएको जानकारी दिएका थिए । श्रममन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनको उपलब्धिबारे जानकारी दिने उद्देश्यले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
'विदेशमा नेपालीले सस्तोमा श्रम बेच्न बाध्य छन्, तत्काल रोक्न पनि सम्भव छैन । दुई वर्षभित्र विदेश जाँदा अनिवार्य सिप सिकाएर मात्रै पठाउने र न्यूनतम पारिश्रमिक पाँच सय अमेरिकन डलर हुने त्योभन्दा कममा श्रम स्वीकृति हुँदैन,' मन्त्रि अर्यालले भने।
श्रम स्वीकृति लिन ८० घण्टासम्म लाग्ने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गर्न सफल भएको दाबी गर्दै उनले भने , 'यति भनिरहँदा पनि पुरानो संरचनाका कारण कामका क्रममा धेरै चुनौती सामना गर्नु परेको छ, सोचे जस्तो अझै हुन सकेको छैन, सुधारका लागि निरन्तर काम गरिरहेका छौँ ।' उनले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको पनि जानकारी दिएका थिए ।
यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले श्रम मन्त्रालयले देशभरका सात वटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गर्यो । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रमिकलाई लाग्ने आर्थिक भार, अङ्ग्रेजी भाषा अनिवार्य गर्ने जस्ता विवादास्पद कार्यविधि खारेज गर्ने जस्ता नीतिगत सुधारका काम भएको पनि जनाइएको छ ।
Facebook Comments