मुगु । मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत-वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमि आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमि आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमि आएको छ ।

परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरुले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेशालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीया झुपु विक अहिले पनि स्याउ खेतीमै रमाउने गरेकी छन् ।

असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानहरुलाई समस्या समाधानबारे जानकारी नगरउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएका मुगुका स्याउले भाउ पाएका छैनन् भने सबै स्याउहरु नेपालगञ्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।

मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगाएतका स्थानमा स्याउको पकेट क्षेत्र मानिन्छ । मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष ९ हेक्टरमा उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष जिल्ला बाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ कृषकहरुले हात पारेका थिए । तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रुपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिल्लोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौं रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिकतवरले खेती गर्ने वातावरण सृजना गरेको छैन ।