काठमाडौं । पछिल्लो समय बाल मनोविज्ञान संग सम्बन्धित रहेर विद्यालयहरुमा विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् । यसैबीच इनर व्हील क्लब अफ टोखा, साउथ वेस्टर्न स्टेट कलेज तथा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) शाखाहरु टोखा र तारकेश्वर नगर कमिटीको संयुक्त आयोजनामा एक दिने शिक्षण पद्धति तालिम सम्पन्न भएको छ ।

साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा शनिवार आयोजित उक्त तालिममा शिक्षण सिकाइ क्रियाकलाप बालमैत्री कसरी बनाउने ?, बाल मनोविज्ञान अनुसारको शिक्षण सिकाइ कसरी गर्ने ?, प्रि स्कुल अध्ययन गर्ने बालबालिकाहरूको हेरचाह कसरी गर्ने ? लगायत विषयमा केन्द्रित रहेको तालिममा ३२ वटा विद्यालयका व्यावस्थापक, प्रधानाध्यापक, एकेडेमिक हेड, शिक्षक शिक्षिकाहरू लगायत ३०० भन्दा बढी शिक्षाकर्मिहरुको सहभागिता रहेको थियो ।

विषयका विज्ञ प्रशिक्षक राम तिवारीले विद्यार्थीहरुको बृहत्तर विकासकालागी सामाजिक मूल्य मान्यता र देश काल परिस्थिति अनुकुलको शैक्षिक क्रियाकलापका लागि शिक्षक कसरी तयार रहने, बाल मनोविज्ञानमा आधारित रहेर शिक्षण सिकाइ कसरी सम्पन्न गर्ने, कलिला बालबालिकाहरुको व्यावहार समय सापेक्ष कसरी बनाउने भन्ने सन्दर्भमा सहभागीलाई करिब ३ घण्टा प्रशिक्षण दिएका थिए ।

इनर व्हिल क्लब अफ टोखा संयोजक तथा अपेन तारकेश्वरकी अध्यक्ष रेखा साही हमालको अध्यक्षता सम्पन्न उक्त प्रशिक्षण सत्रमा साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरीसिंग के. सी. ले बाल मनोबिज्ञानलाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने कुरामा जोड दिदै एउटा शिक्षकले आँफु समय सापेक्ष 'अपडेट' हुने कि 'आउटडेटेड' हुने, हरेक विद्यार्थीहरुसंग भावनात्मक रुपले कसरी मजबुत सम्बन्ध स्थापित गर्ने तथा उनीहरुको आवश्यकतालाई बुझेर कक्षा कोठाको वातावरण कसरी अब्बल बनाउने भन्ने कुरामा आजका शिक्षक शिक्षिकाहरुले तयारि गरेर कक्षा प्रवेश गरेमात्रै शिक्षण सिकाइ प्रभावकारी हुने बताएका छन् ।

यसैगरी अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीले तालिम अर्थपूर्ण भएको र सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको बताइन् । आफूहरूले बालबालिकालाई पढाउने मात्रै भन्दा पनि उनीहरूसँग भावनात्मक रूपमा जोडिएर सिकाउँदा शिक्षणको उद्देश्य पुरा हुन सक्छ भन्ने बुझेको समेत उल्लेख गरिन् ।

ई-खबर संग कुरा गर्दै आउने समयमा पनि यस किसिमका सिर्जनात्मक कार्यहरू गर्दै जानुपर्ने र शैक्षिक स्तरोन्नतिका लागि समाजका विभन्न निकायहरुसंग समन्वय गर्दै  शिक्षण सिकाइको चौतर्फी बिकासमा जोड दिनु पर्ने आजको आवश्यकता रहेको साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल रमेश अधिकारीले बताएका छन् ।

इनर व्हिल क्लब अफ टोखा संयोजक तथा अपेन तारकेश्वरकी अध्यक्ष रेखा साही हमालले विद्यालय, अभिभावक तथा विद्यार्थी सबैको संयुक्त प्रयासले मात्रै प्रभावकारी कक्षा संचालन गर्न सकिने बताउदै यो प्रशिक्षण कार्यक्रमले थप कार्यक्रम आयोजना गर्न हौसाला प्रदान गरेको बताएकी छन् ।

सहभागीहरुको सोचाई र व्यावहारमा भित्रैबाट परिवर्तन ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्ने जनाउँदै निकट भविष्यमा यस्तै प्रकारका थप शैक्षिक कार्यक्रम गर्न आँफु उत्साहित रहेको इनर व्हिल क्लब अफ टोखा संस्थापक संयोजक तथा किड्स स्कुलकी प्रिन्सिपल शर्मिला के. सी.ले बताइन् ।

सहभागीहरूले तालिम पश्चात् बालबालिकाको व्यवहार बुझ्न र त्यस अनुसारको शिक्षण गर्न अझै धेरै ज्ञान मिलेको र यस्ता किसिमका तालिम हरेक विद्यालयहरुका लागि आवश्यकता रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा इनर व्हील क्लब अफ टोखा जिल्ला संयोजक टुना थापा तथा जिल्ला सचिब कमला श्रेष्ठलाई सम्मान सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।